काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले विशेष महाधिवेशनबाट नेतृत्व फेरेरै जाने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले भने, ‘हामी नेतृत्व फेरेर जान्छौँ ।’

भए नियमित नभए निर्वाचन अगाडि नै विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा आफू भएको उल्लेख गर्दै उनले कांग्रेस मालिकको आदेशले नभएर आम कार्यकर्ताहरूले बनाएको संरचना भएको बताए ।

कोशीका पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले आफू शेखर कोइरालाका प्रतिनिधिका रूपमा सहभागी भएको उल्लेख गर्दै उनले आवाजलाई साकार पार्नका लागि पनि विशेष महाधिवेशनस्थलमा पुगेको बताए ।

शेखर पनि भए नियमित नभए विशेष महाधिवेशनको पक्षमा नै रहेको कुरा उनले पहिले नै भनिसकेको उनको भनाई थियो ।

उनले भने, ‘म नियमित महाधिवेशनको पक्षमा छु नभए विशेष महाधिवेशनको पक्षमा छु भनेर उहाँ शेखरले भन्नुभएको थियो । उहाँको भौतिक उपस्थिति नभए पनि म उहाँको प्रतिनिधि बनेर आएको हुँ ।’

उनले नेपाली कांग्रेसमा गुटगत राजनीति विशेष महाधिवेशनले खारेज गरिदिएको उल्लेख गर्दै भने, ‘अब इतर र भितर छैन । भन्ने सन्देश दिनलाई पनि विशेष महाधिवेशनमा आएका छौँ ।’