हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–९ मा निर्माण गरिएको भ्युटावर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमकाबिच बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा निर्माण भएको सो भ्यु टावरको संरचना नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख रोशन वास्तवले नगरपालिकाका मेयर विष्णु विष्टलाई भ्युटावर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।
हाललाई अनौपचारिक रूपमा संरचनाहरू हस्तान्तरण गरेको भए पनि छिट्टै नै उद्घाटन तथा सञ्चालनमा ल्याउने गरी पर्यटन विकास आयोजना हेटौँडा र नगरपालिकाबिच सम्झौता समेत भएको छ । सम्झौता अनुसार सो संरचना सञ्चालनबाट प्राप्त राजस्वको निश्चित रकम प्रदेशले पाउने छ ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भ्युटावर सञ्चालनमा आएपछि थाहा नगरको पर्यटकीय आकर्षण बढ्ने र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटन प्रवर्द्धनका लागि थाहा नगरपालिका क्षेत्रका अन्य सम्भावनामा पनि प्रदेश सरकारले काम गर्ने बताए ।
प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६ र २०७८) अन्तर्गत सो परियोजना अघि बढाएको थियो । आयोजना अन्तर्गत भ्युटावरसहित क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस र सपोर्ट फेसिलिटी निर्माण गरिएको छ । उक्त संरचना निर्माणका लागि दुई चरणमा गरी मूल्य समायोजनसहित कुल ५ करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ खर्च भएको बताइएको छ ।
यससँगै प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि २०७६ सालदेखि हालसम्म प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरेका छ । उक्त भ्युटावर निर्माणमा प्रदेश सरकारले ३३ करोड (३२ करोड ८४ लाख ३ हजार ३ सय ३९ रुपैयाँ) खर्च गरेको छ ।

