काठमाडौँ । सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाद्वारा आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ सम्पन्न भएको छ। जङ्गी अड्डा परिसरमा मिति २०८२ माघ ०४ गतेदेखि ०७ गतेसम्म सञ्चालन भएको प्रदर्शनीमा नेपाली सेनाले सम्पादन गर्दै आएका विविध जिम्मेवारी तथा गतिविधिहरूलाई प्रस्तुत गरिएको थियो।
प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, शान्ति सेना, विपद् व्यवस्थापन, विकास निर्माण, खेलकुद, सैनिक विद्यालय तथा राष्ट्रिय सेवा दललगायत विषय समेटिएका ३० वटा स्टलहरू राखिएका थिए। चार दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा आम नागरिक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रदर्शनीको उद्घाटन प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले गरेका थिए भने समापनका अवसरमा जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेतले सहभागी युनिटहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र प्रदान गरेका छन । प्रदर्शनीमार्फत अवलोकनकर्ताहरूले नेपाली सेनाको विकासक्रम र वर्तमान भूमिकाबारे जानकारी प्राप्त गरेको विश्वास लिइएको छ।

