काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा रुकुम पूर्वबाट चुनाव लड्ने लगभग निश्चित भएको बताएका छन्।
रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमबाट उम्मेदवारी दिने संकेत गरेका हुन्। उनले स्थानीय जनतासँगको सम्बन्ध अझ बलियो बनाउँदै विकास निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
“तपाईंहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ। पहिलेभन्दा बढी तपाईंहरूको दुःख–सुख र विकास निर्माणको काममा साथ रहनेछु,” उनले भने।
प्रचण्डले शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। रुकुम पूर्व नेकपा (तत्कालीन माओवादी)को परम्परागत गढ मानिन्छ। पछिल्लो निर्वाचनमा माओवादीबाट पूर्णबहादुर घर्ती भारी मतका साथ विजयी भएका थिए।
प्रचण्डले अहिलेसम्म एउटै निर्वाचन क्षेत्रबाट दोहोर्याएर चुनाव नलडेका तथ्य पनि स्मरण गराइएको छ। उनले ०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट जित हासिल गरेका थिए। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहा–३ बाट उम्मेदवार बने पनि काठमाडौंमा पराजित भई सिराहाबाट निर्वाचित भएका थिए।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग पार्टी एकीकरणपछि चितवन–३ बाट निर्वाचित भएका प्रचण्डले ०७९ को निर्वाचनमा चितवन–३ छाडेर गोरखा–२ बाट चुनाव जितेका थिए। सो निर्वाचनमा जनयुद्धकालीन सहयात्री तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको समर्थनले उनलाई जित हासिल गर्न सहयोग पुगेको थियो।

