काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार एक घोषणा गर्दै उनले देशको वर्तमान तरल राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको बताएका हुन्।
आफ्नो निर्णयबारे प्रष्ट पार्दै भट्टराईले विभिन्न राजनीतिक दल र शुभेच्छुकहरूले आफूलाई साझा व्यक्तित्वको रूपमा रहन सुझाव दिएको उल्लेख गरे। “मलाई धेरै साथीहरू र दलहरूले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह र सुझाव दिएर अभिभावकीय भूमिकामा रहन आग्रह गर्नुभयो,” उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रका चुनौती व्यवस्थापन र आर्थिक समृद्धिका लागि बाहिरै रहेर दलहरूलाई सघाउनु उपयुक्त हुने ठानेर यो निर्णय लिएको हुँ।”
भट्टराईलाई उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत आग्रह गरेको बुझिएको छ। यस क्षेत्रमा रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी र नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने चुनावी मैदानमा छन्। उम्मेदवारी फिर्ता लिए पनि आफू निरन्तर जनताको सेवामा लागिरहने प्रतिबद्धता भट्टराईले व्यक्त गरेका छन्।

