काठमाडौँ,  बुढानीलण्ठमा नगरपालिका योजना बद्ध विकासतर्फ अगाडि बढेको छ । नगरपालिका क्षेत्रमा हरियाली प्रबद्र्धन, पूर्वाधारको विकास र सरसफाइले गर्दा नगरपालिका क्रमिकरुपमा योजनाबद्ध विकासतर्फ अगाडि बढेको हो । हरियाली पहाडको फेदमा अवस्थित बुढानीलकण्ठ नगरपालिका पछिल्ला वर्षहरूमा योजनाबद्ध विकासमार्फत् पर्यटकले हेर्नलायक र नगरबासी बस्नलायक सुन्दर शहर बन्ने लक्ष्यसहित अघि बढिरहेको छ। काठमाडौँ उपत्यकाको उत्तर किनारमा फैलिएको यो नगरपालिका प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा र शान्त वातावरणका कारण राजधानी नजिकैको आकर्षक गन्तव्यका रूपमा उदाउँदै आएको छ ।
छेउमै हरियाली पहाड, कतैकतै कलकल बग्ने खोला, चराचुरुङ्गीको चिरबिर आवाज र अलि माथि उक्लिँदा देखिने काठमाडौँ उपत्यकाको मनोरम दृश्यले बुढानीलकण्ठ नगरपलिकालाई विशेष बनाएको छ। तर करिब एक दशकअघि यही स्थान अनकण्टार गाउँजस्तै थियो। विकासका पूर्वाधार सीमित थिए, स्रोत–साधन र जनप्रतिनिधिको अभाव थियो। तर आज भने बुढानीलकण्ठ ‘स्वच्छ, शान्त र समृद्ध शहर’ बन्ने अभियानमा निरन्तर अघि बढिरहेको बुुढानिलकण्ठ नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरापलिका अहिले क्रमिकरुपमा योजनाबद्ध विकासतर्फ अगाडि बढेको स्पष्ट पार्नुुभयो ।
२०७१ मंसिर १६ गते ६ वटा गाविसलाई एकीकृत गरी बुढानीलकण्ठ नगरपालिका घोषणा गरिए पनि पाँच महिनामै २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले नगरपालिकालाई ठूलो धक्का दियो। करिब ९ हजारको ज्यान लिने र लाखौँलाई घरबारविहीन बनाउने उक्त भूकम्पले बुढानीलकण्ठका योजना, पूर्वाधार र प्रशासनिक संरचनालाई ठप्प पारिदियो तर अहिले नगरपालिका पूर्वाधार विकास साथै योजनाबद्ध विकासतर्फ तीव्ररुपमा अगाडि बढेको छ ।