काठमाडौँ । नेपाली सुगम संगीत र साहित्यको प्रतिष्ठित शृङ्खला ‘पलेँटी’ मा आज साँझ विदुषी भूषिता वशिष्ठले आफ्ना छन्द कविताहरू प्रस्तुत गर्दैछिन्। काठमाडौँको कालिकास्थानस्थित ‘आर-शाला’ मा आयोजना हुने यस कार्यक्रममा उनले करिब सात वर्षको अन्तरालपछि पलेँटीको मञ्चमा पुनरागमन गर्न लागेकी हुन्।

आजको विशेष शृङ्खलामा भूषिताले शास्त्रीय छन्दमा आधारित कविताहरूलाई गायन र वाचनमार्फत प्रस्तुत गर्नेछिन्। कार्यक्रमको मुख्य आकर्षण साहित्यका ‘नवरस’ (नौवटा भाव) रहनेछ। उनले श्रृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त रसलाई प्रतिनिधित्व गर्ने पुराना तथा समकालीन कविहरूका रचनाहरूलाई संगीतको लयमा पस्कनेछिन्।

आदिकविदेखि समकालीनसम्मको यात्रा
कार्यक्रममा भूषिताले आफ्ना मौलिक रचनाका साथै नेपाली साहित्यका शिखर व्यक्तित्वहरूको सम्मानमा उनीहरूका कालजयी कविताहरू समेत वाचन गर्नेछिन्। जसमा,आदिकवि भानुभक्त आचार्य र कविशिरोमणि लेखनाथ पौडेलका शास्त्रीय छन्दका रचना, महाकवि लक्ष्मीप्रसाद देवकोटाका दार्शनिक कविता साथै, केही समकालीन कविहरूका आधुनिक छन्द रचनाहरूवाचन गर्नेछिन्।

साहित्य र संगीतको त्रिवेणी
पलेँटीका संयोजक एवं संगीतकार आभासका अनुसार, भूषिताको यो प्रस्तुति केवल कविता वाचन मात्र नभई नेपाली भाषाको मिठास र छन्दको गहिराइलाई संगीतको माध्यमबाट युवा पुस्तासम्म पुर्‍याउने प्रयास हो। लामो समयको ग्यापपछि भूषितालाई सुन्न र हेर्न साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

पलेँटीले विगत दुई दशकदेखि नेपाली संगीत र साहित्यका विविध आयामलाई प्रस्तुत गर्दै आएको छ। आजको कार्यक्रम साँझ ठिक ६ बजे सुरु हुने आयोजकले जनाएको छ।