काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोलेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित ध्रुवीकरण कार्यक्रममा बोल्दै विप्लवले आफूहरू एकतामा नआएको भन्ने प्रचण्डको अभिव्यक्ति तथ्यहीन र भ्रामक रहेको बताए। उनले प्रचण्डले गरेको एकता तथा ध्रुवीकरणको आह्वान क्रान्तिकारी मर्म र भावनाबाट विचलित भएको आरोप लगाए।
‘विप्लव एकतामा आएन भन्ने हल्ला झुटो हो,’ उनले भने, ‘प्रचण्डले आह्वान गरेको एकता र ध्रुवीकरण क्रान्तिकारी भावना र मर्मबाट भागेको छ। त्यो न पार्टीजस्तो छ, न त मोर्चाजत्तिकै।’
केन्द्रीय समिति २५ सयदेखि तीन हजार सदस्यीय बनाउने प्रस्तावप्रति पनि उनले आपत्ति जनाए। ‘यस्तो संरचनाले कम्युनिस्ट पार्टीको हुर्मत लिने काम गर्छ। मान्छे धेरै हुँदैमा पार्टी सही हुने होइन,’ उनले भने, ‘लोभ–लालच देखाएर भीड जम्मा गर्दैमा जनता मान्ने पक्षमा छैनन्।’
आफूले विकास गरेका विचार र स्थापित इतिहासमा टिक्न नसक्दा नेकपामा कुरूप अवस्था देखिएको विप्लवको आरोप छ। उनले आजको अवस्थामा प्रचण्ड माओवादी आन्दोलनलाई विसर्जनतर्फ लैजाने बाटोमा लागेको दाबी गरे।
‘हामी साँच्चै एकता चाहन्छौँ, सुदृढ एकता चाहन्छौँ,’ विप्लवले भने, ‘तर अवसरवादी र लिच्चड प्रवृत्तिमा कुनै विश्वास हुँदैन।’

