काठमाडौँ । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुस–युक्रेन–अमेरिकाबीच हुने आगामी वार्ता ४ र ५ फेब्रुअरीमा अबुधाबीमा हुने जानकारी दिएका छन् । यसअघि वार्ता आइतबार हुने भनिए पनि समय परिवर्तन गरिएको हो ।

२३ र २४ जनवरीमा सम्पन्न पहिलो चरणको वार्ता सन् २०२२ पछि पहिलो त्रिपक्षीय संवाद थियो, जसलाई सबै पक्षले ‘रचनात्मक’ भनेका थिए । तर, क्षेत्रीय विषय, विशेषगरी रुसले दाबी गरेको नयाँ सीमालाई युक्रेनले अस्वीकार गरेपछि सहमति बन्न सकेन ।

न्युयोर्क टाइम्सका अनुसार वार्ता सारिनुको कारण स्पष्ट छैन । तर, यो परिवर्तन रुस र अमेरिकाका वार्ताकारबीच फ्लोरिडामा भएको एक आकस्मिक भेटपछाडि आएको बताइएको छ । दुवै पक्षले भेटको विवरण सार्वजनिक नगरे पनि अमेरिकी दूत स्टिभ विटकोफ र रुसी दूत किरिल दिमित्रिएभले भेटलाई ‘रचनात्मक’ भनेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आगामी चरणमा प्रमुख अमेरिकी वार्ताकारहरू सहभागी नहुने, तर कुनै न कुनै अमेरिकी उपस्थिति हुन सक्ने बताएको आरटीले जनाएको छ ।

जेलेन्स्कीले युक्रेन गम्भीर छलफलका लागि तयार रहेको र युद्ध अन्त्यतर्फ नतिजा चाहेको बताएका छन् । उता, रुसले कूटनीतिक समाधानलाई प्राथमिकता दिने, तर आवश्यक परे सैन्य विकल्प पनि खुला राख्ने अडान दोहोर्‍याएको छ ।