काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शम्शेर राणाले पार्टी सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले २०८२ माघ २३ गते मिति उल्लेख गर्दै पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गरिएको पत्रमार्फत राजीनामा घोषणा गरेका हुन्।
राजीनामा पत्रमा राणाले पार्टीको आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शितामाथि प्रश्न उठाएका छन्। उनले सुरुवाती चरणमा पार्टीले लोकतान्त्रिक अभ्यास, नीति–निर्माण र संगठन सुदृढीकरणमा सकारात्मक प्रयास गरे पनि पछिल्लो समय नेतृत्व आफ्नै अनुकूल संगठनात्मक संरचना बनाउन केन्द्रित भएको आरोप लगाएका छन्।
उनका अनुसार पार्टी विधान संशोधन, निर्वाचन क्षेत्रसम्बन्धी व्यवस्था तथा केन्द्रीय समितिको विस्तारित बैठकजस्ता विषयहरू लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन नगरिएको दाबी गरिएको छ। उनले केन्द्रीय समितिलाई सीमित बनाइ निर्णय प्रक्रिया केन्द्रीकृत गरिएको उल्लेख गरेका छन्।
राणाले प्राथमिक निर्वाचन (प्राइमरी) सम्बन्धी व्यवस्थामा ५० प्रतिशतको प्रावधान राखिएको विषय र सदस्यता शुल्क उठाउने प्रक्रियामा समेत आर्थिक अपारदर्शिता देखिएको आरोप लगाएका छन्। पत्रमा “वैथितिको अन्त्य–स्थितिको थालनी” भन्ने पार्टीको प्रारम्भिक नारासमेत व्यवहारमा उल्टो देखिएको टिप्पणी गरिएको छ।
उनले विशेष परिस्थितिको नाममा विधि विपरीत निर्णय लिने अभ्यास बढ्दै गएको भन्दै यस्ता प्रवृत्तिले आम नागरिकको विश्वास कमजोर बनाउने उल्लेख गरेका छन्। अन्ततः आफ्ना सिद्धान्त र विवेकअनुसार पार्टीमा रहिरहन नसक्ने निष्कर्षसहित उनले राजीनामा दिएको जनाएका छन्।
रास्वपाको तर्फबाट यस विषयमा आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

