काठमाडौं। बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा निर्वाचनमा गरेको चुनावी खर्च सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा झापा क्षेत्र नम्बर ५ बाट विजयी भएका बालेनले सोमबार निर्वाचन आयोगलाई बुझाएको विवरणअनुसार उनले निर्वाचनका लागि जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको जानकारी दिएका हुन्।
बालेनले सार्वजनिक गरेको विवरणअनुसार प्रचार–प्रसार र चुनावी गतिविधिमा विभिन्न शीर्षकमा खर्च गरिएको छ। खर्च विवरणमा ५८ जनालाई खाजा खुवाउँदा २८ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी १५ दिन सवारी साधन प्रयोग गर्दा २ लाख ९३ हजार ८ सय रुपैयाँ, पाँच पटक झापा आउजाउ गर्दा हवाई भाडामा ३५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ। झापा–५ का २९ वटा वडामा १५ दिन गरिएको प्रचार कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको पनि विवरणमा उल्लेख छ।
यसैगरी नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालन तथा पानी खर्चमा १ लाख २० हजार रुपैयाँ, र स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
प्रचार सामग्रीतर्फ झन्डा र ब्याज छपाइमा १ लाख ६५ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्ता खर्च १० हजार रुपैयाँ रहेको विवरण पनि आयोगलाई बुझाइएको छ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेनले केपी ओलीलाई पराजित गरेका थिए। उनले उक्त निर्वाचन क्षेत्रमा ६८ हजार ३४८ मत प्राप्त गरी विजय हासिल गरेका हुन्।

