काठमाडौं । विश्वविद्यालय अनुदान आयोग ले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन फाराम खुला गरेको छ। आयोगले उच्च शिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०८० (प्रथम संशोधन) अनुसार छात्रवृत्तिका लागि आवेदन माग गरेको हो।
आयोगद्वारा प्रकाशित सूचनाअनुसार आर्थिक वर्ष २०८२/०८३ मा स्नातक तथा स्नातकोत्तर तहको प्रथम वर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूले २०८२ चैत २५ गते कार्यालय समयभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन आयोगको “उच्च शिक्षा छात्रवृत्ति” लिंक वा ugc.pathway.com.np मार्फत भर्न सकिने जनाइएको छ।
यस कार्यक्रम अन्तर्गत अपाङ्गता भएका, आर्थिक रूपमा विपन्न, दलित, मुस्लिम महिला, शहीद तथा द्वन्द्वपीडितका सन्तति र मुक्त कमलरी विद्यार्थीहरू लाई उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिनेछ।
आयोगले जारी गरेको सूचनाअनुसार स्नातक तहका लागि २५ वर्ष र स्नातकोत्तर तहका लागि ३० वर्ष उमेर सीमा तोकिएको छ। तर शहीद तथा द्वन्द्वपीडितका सन्तति र अपाङ्गता भएका विद्यार्थीका लागि उमेर सीमा लागू नहुने जनाइएको छ।
यसअघि छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले पुनः नयाँ आवेदन दिएमा सो आवेदन मान्य नहुने तथा तोकिएको समयपछि प्राप्त वा अपूर्ण कागजातसहितका आवेदनमाथि कुनै कारबाही नगरिने आयोगले जनाएको छ। साथै एउटै तहमा अध्ययनका लागि कुनै पनि विद्यार्थीलाई दोहोरो छात्रवृत्ति उपलब्ध नगराइने स्पष्ट गरिएको छ।


