काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ) ले इरानका गुप्तचर प्रमुख इस्माइल खताइबलाई आक्रमण गरेको छ । इजरायली सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन् ।

‘जेरुसेलम पोस्ट’का अनुसार, केही इरानी सञ्चारमाध्यमहरूले पनि यस आक्रमणको प्रयासबारे जानकारी दिएका थिए । यद्यपि, खताइबको अवस्थाका बारेमा हालसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

रिपोर्टका अनुसार, यो आक्रमण मंगलबार राति गरिएको थियो । बुधबार एक स्रोतले जेरुसेलम पोस्टलाई बताएअनुसार उक्त आक्रमण सफल भएको छ । तर, यसको नतिजाबारे हालसम्म आधिकारिक रूपमा पुष्टि भइसकेको छैन ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार आफ्ना सेनाले इरानका गुप्तचर प्रमुख खताइबलाई मारिसकेको दाबी गरेका छन् । काट्जले खताइबको मृत्युको घोषणा गर्दै बुधबार दिउँसो सबै मोर्चाहरूमा महत्त्वपूर्ण र आश्चर्यचकित पार्ने घटनाक्रमहरू हुने अपेक्षा गरिएको भनेका छन् । यद्यपि, उनले यसको बारेमा विस्तृत जानकारी भने दिएनन् ।