काठमाडौं । प्रतिनिधिसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ । बिहीबार (चैत ५) निर्वाचन आयोगको कार्यालय कान्तिपथमा आयोजित कार्यक्रममा नवनिर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरू सगुनशमशेर जबरा र जानकीकुमारी तुलाधरले सांसदहरूलाई खादामाला लगाइदिए । आयोगका सचिव कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गरे ।
गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ दलले समानुपातिक सिट पाएका थिए । समानुपातिक मतका अधारमा दलको सिट निर्धारण गरिएको थियो ।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नौ सिट जिते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले समान चार/चार सिट पाए ।
चैत २ गते आयोगले निर्वाचित ११० समानुपातिक सांसदको नामावली सार्वजनिक गरेको थियो । उनीहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको हो ।

