भारदह । ‘प्रविधिको प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ नारासहित विश्वव्यापी रूपमा मनाइँदै आएको ३४औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत राजविराज-१, चनौरा पडरिया स्थित धर्मगुरूहरूसँग बालविवाह न्यूनीकरणका लागि कानुन र नीतिगत विषयमा अन्तर्क्रिया गरिएको छ।

यो कार्यक्रम बालविवाह विरूद्ध प्रदेश स्तरीय सञ्जाल, परिकल्पना नेपाल सप्तरी तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा सम्पन्न गरिएको हो।
कार्यक्रममा सहभागी धर्मगुरूहरूले बालविवाह रोकथामको प्रभावकारी उपायका लागि स्थानीय तहमा छुट्टै नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव राखे।

मौलाना मो. अल्ला उद्दिनले विवाह गर्नुअघि वडा कार्यालयबाट अनिवार्य सिफारिस लिने नीति स्थानीय तहले लागू गर्न सके बालविवाह घट्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कतिपय स्थानमा उमेर नपुग्दै नागरिकता बनाइदिने प्रवृत्तिले समस्या झनै जटिल बनाएको बताउनुभयो।

पण्डित मुक्तिनाथ झाले “कानुन एकातिर, व्यवहार अर्कोतिर” रहेको उल्लेख गर्दै, नैतिक मूल्य र सामाजिक चेतनाको विकास बिना बालविवाह रोक्न कठिन हुने धारणा राख्नुभयो। उहाँका अनुसार सहयोग, समन्वय र कानुनपालन नै समाधानको आधार हो।

राजदेवी मन्दिरका पुजारी भोला नाथ चौधरीले आफूहरूले विवाह गराउँदा उमेरलाई प्राथमिकता दिने गरेको बताउँदै दलित तथा सीमान्तकृत समुदायमा बालविवाहको जोखिम बढी रहेको र त्यहाँ विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

परिकल्पना नेपालका उपाध्यक्ष सुनिता परियारको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।
नरेश चौधरीले कार्यक्रम सहजीकरण गरे भने, सवाना प्रविणले स्वागत मन्तव्य राख्नुभयो।
उक्त अन्तर्क्रियामा २५ जना पण्डित तथा मौलानाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाकी कार्यक्रम संयोजक रिमा चौधरीले गर्नुभएको थियो।