संयुक्त राष्ट्र — संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहायता जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित जनताप्रति पर्याप्त संवेदनशील नदेखिएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ।

सहयोग कार्यक्रमका लागि आवश्यक रकम अत्यन्तै कमी भएकाले यस वर्षको माग सीमित दायरामा प्रस्तुत गरिएको संयुक्त राष्ट्रले जनाएको छ। संयुक्त राष्ट्रका मानवतावादी प्रमुख टम फ्लेचरले २०२५ भरि विभिन्न मुलुकमा बढ्दै गएको हिंसा, यौन दुव्र्यवहार, मानवअधिकार उल्लङ्घन र कानुनको अवहेलनले आफूलाई “गम्भीररूपमा दुःखी र चिन्तित” बनाएको बताए।

फ्लेचरका अनुसार, “नियमहरू कमजोर हुँदैछन् र विश्वको ध्यान मानव पीडाबाट टाढिँदै गएको देखिन्छ।”

संयुक्त राष्ट्रले गाजा, युक्रेन, सुडान र म्यानमारलगायतका सङ्कटग्रस्त क्षेत्रमा रहेका झण्डै ८ करोड ७० लाख मानिसलाई सहयोग गर्न कम्तीमा २३ अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखेको छ।

सन् २०२६ मा मात्र १३ करोड ५० लाख मानिसलाई सहायता पुर्‍याउन ३३ अर्ब डलर आवश्यक पर्ने अनुमान छ। युद्ध, महामारी, प्राकृतिक प्रकोप र जलवायु संकटका कारण विश्वका करिब २४ करोड मानिसलाई आपतकालीन सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रको भनाइ छ।

प्रधान प्राथमिकता: गाजा, पश्चिमी किनारा र सुडान

गाजा र पश्चिमी किनाराका ३० लाख मानिसलाई सहायता गर्न संयुक्त राष्ट्रले ४ अर्ब १० करोड डलर माग गरेको छ।
त्यसैगरी, सुडानमा जारी हिंसाबाट विस्थापित २० लाख मानिसलाई सहयोग गर्न २ अर्ब ९ करोड डलर आवश्यक पर्ने बताइएको छ।

फ्लेचरले सुडानको टाविला घटनाको उदाहरण दिँदै भने, “एक आमा आफ्ना पति र बच्चाको हत्या भएको दृश्य हेरेपछि बाँकी परिवारसहित भागिन्। उनले असह्य पीडा भोगिन्, तर अदम्य साहस अझै बाँकी थियो।”

८७ दिनभित्र सहयोग जुटाउने लक्ष्य

संयुक्त राष्ट्रले सदस्य राष्ट्रहरूलाई ८७ दिनभित्र आवश्यक सहयोग जुटाउन आग्रह गर्नेछ। माग पूरा नभए नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणसम्म अभियान विस्तार गरिनेछ।

फ्लेचरले जोड दिए, “हामी विश्वले रक्षा क्षेत्रमा खर्च गर्ने रकमको केवल एक प्रतिशतभन्दा अलिकति मात्र मानवतावादी सहयोगका लागि मागिरहेका छौँ। रक्षा खर्च घटाएर मानवीय सहायता बढाउनुपर्छ।”