झापा — झापामा पछिल्ला तीन वर्षमा एचआईभी संक्रमित ७५ जनाको मृत्यु भएको छ। जिल्लामा एचआईभी संक्रमितको मृत्युदर वर्षैपिच्छे वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए।

दासका अनुसार

  • आर्थिक वर्ष २०७९/८० मा १७ जना,

  • २०८०/८१ मा २३ जना

  • चालु आव २०८१/८२ मा मात्रै ३५ जनाको मृत्यु भइसकेको छ।

उनका अनुसार उपचार लिन आउने बिरामीमध्ये औषधि नखाने दर शून्यमा झरे तापनि मृत्युदर भने उल्टै बढिरहेको छ।

२२ जना नयाँ संक्रमित थप

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म झापामा २२ जना नयाँ एचआईभी संक्रमित फेला परेको दासले बताए।
नयाँ संक्रमितमध्ये

  • ४ जनाले दमक अस्पताल

  • १८ जनाले मेची प्रादेशिक अस्पतालमार्फत
    नियमित एआरटी (Anti-Retroviral Therapy) औषधि सेवन गरिरहेका छन्।

८०६ जना एआरटी सेवामा

हाल झापा जिल्लामा पुराना र नयाँ गरी ८०६ जना संक्रमितले नियमित एआरटी सेवा लिइरहेका छन्। तीमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेका छन्।

स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्षमुनिका संक्रमित बालबालिकालाई प्रतिमहिना १,००० रुपैयाँका दरले सहयोग उपलब्ध गराइँदै आएको दासले जानकारी दिए। भद्रपुरस्थित नयाँ सचेतना समूहमा रहेका ३० जना सबै बालबालिकाले नियमित एआरटी सेवा लिँदै आएका छन्।

वर्षअनुसार उपचाररत संक्रमितको तथ्यांक

  • २०७९/८०: नयाँ ७०, पुराना ६६३

  • २०८०/८१: नयाँ ७४, पुराना ७५०

  • २०८१/८२: नयाँ ५६, पुराना ७८४

स्वास्थ्य कार्यालयका अनुसार संक्रमित संख्या र मृत्युदर बढिरहेकाले सचेतना, परीक्षण र नियमित उपचारमा अझै ध्यान दिन आवश्यक छ।