अमेरिका
नर्थ क्यारोलाइनाको सदरमुकाम राले नजिकै पर्ने होलिस्प्रिंगमा शनिबार बिहान नेपाली समुदायले नेपालको राष्ट्रिय झण्डासहित मादलको ताल र सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो पहिचान प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।

क्रिसमसअघि प्रत्येक वर्ष टाउन अफ होलिस्प्रिंगद्वारा आयोजना गरिने ‘ह्याप्पी होलिडेज परेड’ मा यस वर्ष पहिलोपटक नर्थ क्यारोलाइनामा बसोवास गर्ने नेपाली समुदायले औपचारिक सहभागिता जनाएको हो। परेडका क्रममा मादलको तालसँगै नेपाली गीत, नृत्य र लाखे नाच प्रस्तुत गरिएको थियो।

करीब एक सय नेपालीको सहभागिता रहेको उक्त परेडमा सहभागी पुरुषहरूले दौरा–सुरुवाल र महिलाहरूले साडी तथा चोलो लगाएर नेपाली मौलिक संस्कृति झल्काएका थिए। करिब दुई किलोमिटर लामो पैदल परेडका क्रममा सडकका दुवै किनारमा उपस्थित हजारौँ स्थानीय बासिन्दाले नेपाली सांस्कृतिक प्रस्तुतिलाई उत्साहपूर्वक स्वागत गरेका थिए।

नेपाली कम्युनिटी अफ नर्थ क्यारोलाइना (एनसीएनसी) का अध्यक्ष विकास शाक्यले पहिलोपटक सहभागिता भएकाले संख्या अपेक्षाकृत कम भए पनि आगामी वर्षहरूमा नियमित र अझ ठूलो सहभागिता जनाउने योजना रहेको जानकारी दिनुभयो।

उक्त परेडमा स्थानीय संघ–संस्था, विद्यालय, अस्पताल, चर्च, सवारी साधन तथा नृत्यशालासहित ८२ वटा समूहको सहभागिता रहेको थियो। टाउन अफ होलिस्प्रिंगले सबै सहभागी समूहप्रति आभार व्यक्त गरेको छ।

परेड अवलोकन गर्न उपस्थित स्थानीय बासिन्दा क्यारोलले कार्यक्रम भव्य भएको बताउँदै नेपाली समुदायको प्रस्तुति र आपसी सद्भावनाप्रति धन्यवाद व्यक्त गर्नुभयो।