भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा माध्यमिक तहस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०८२ सम्पन्न भएको छ। प्रतियोगितामा नेशनल प्याब्सन अन्तर्गतका सदस्य विद्यालयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयकै कार्यक्रम हलमा सम्पन्न प्रतियोगितामा इडेन गार्डेन इङ्गलिस स्कुल प्रथम हुन सफल भएको छ भने मदरल्याण्ड इङ्गलिस स्कुल दोस्रो, ऋतम्भरा पाठशाला तेस्रो र आरक्षण नेशनल स्कुल ले सान्त्वना स्थान हासिल गरेका छन्।
कार्यक्रमका सभापति तथा आयोजक विद्यालय विमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक कुमार थापा मगरले प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनुमा सहभागी विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेशनल प्याब्सन भक्तपुरप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. १० का प्रशासकीय प्रमुख कुमार राउतले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै विद्यार्थीहरूले निरन्तर मेहनत गरेमा सफलता अवश्य प्राप्त हुने प्रेरणादायी भनाइ व्यक्त गर्नुभयो।
नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरेकोमा आयोजक विद्यालय विमल मेमोरियल विद्यापीठलाई धन्यवाद ज्ञापन गर्दै विजेता तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिनुभयो। साथै यस्ता शैक्षिक तथा बौद्धिक कार्यक्रमहरूमा सबै विद्यालयले सक्रिय सहभागिता जनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

