नवलपुर । विदेशमा वर्षौँ पसिना बगाएपछि स्वदेश फर्किएका नवलपुर कावासोती–४, हसौराका मित्रबहादुर गाहा मगर अहिले सफल तरकारी किसानको रूपमा परिचित हुनु भएको छ । विगत सात वर्षदेखि निरन्तर तरकारी खेती गर्दै आउनु भएका उहाँले कृषि पेसाबाटै वार्षिक करिब सात लाख रुपैयाँ आम्दानी गर्दै आउनु भएको छ ।

हाल उहाँले हसौरामा ३१ कठ्ठा जग्गा लिजमा लिएर सिजनअनुसार विभिन्न तरकारी खेती गर्दै आउनु भएको छ । यस कार्यमा उहाँलाई श्रीमतीसहित परिवारका सदस्यको पूर्ण साथ र सहयोग रहेको छ ।

कृषि पेसा सुरु गर्नुअघि उहाँ पाँच वर्षसम्म मलेसियामा काम गर्नु भएको थियो । विदेशको अनुभव सम्झँदै उहाँ भन्नु हुन्छ, “विदेशमा कमाएको भन्दा आफ्नै देशमा मिहिनेत गर्दा सन्तुष्टि धेरै हुँदो रहेछ ।”

तरकारी खेतीबाट सबै लागत कटाएर वार्षिक औसतमा सात लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँको भनाइ छ । “कहिले बजारभाउ राम्रो नहुँदा नाफा घट्छ, कहिले राम्रो हुँदा आम्दानी बढ्छ । तर औसतमा सात लाख हाराहारी हुन्छ,” उहाँले बताउनु भयो ।

हाल उहाँको खेतबारीमा स्थानीय भक्तपुरे जातको काँक्रो उत्पादन राम्रो भएको छ । काँक्रोसँगै बोडी, करेला, टमाटर, खुर्सानी, घिउसिमी लगायतका तरकारी पनि सिजनअनुसार खेती गर्दै आउनु भएको छ । काँक्रो उहाँको मुख्य बाली हो ।

तरकारी खेतीबाट नियमित आम्दानी हुन थालेपछि विदेश जाने सोच नै हटेको उहाँ बताउनु हुन्छ । “आफ्नै परिवारसँग बसेर काम गर्न पाउँदा निकै खुसी छु । मिहिनेत गरे नेपालमै राम्रो कमाइ गर्न सकिन्छ,” उहाँको भनाइ छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत नवलपुरमा ‘तरकारी सुपरजोन’ कार्यक्रम लागू भएपछि खेती गर्न थप सहज भएको किसानहरूको अनुभव छ । यस परियोजनाबाट गाहा मगर मात्र होइन, क्षेत्रका अन्य धेरै किसानहरू पनि लाभान्वित भएका छन् ।

‘तरकारी सुपरजोन’ कार्यक्रम अन्तर्गत कावासोती नगरपालिका वडा नं. ४ तथा हुप्सेकोट गाउँपालिकामा विशेषगरी स्थानीय भक्तपुरे जातको काँक्रो खेती प्रवर्द्धन हुँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका सूचना अधिकारी रणबहादुर महतोले जानकारी दिनु भयो ।

उहाँका अनुसार हुप्सेकोट गाउँपालिका वडा १, २, ३ र ४, मध्यविन्दु नगरपालिका वडा १, २, ३, ६ र ९, कावासोती नगरपालिका वडा ४, ९, १०, १२, १५, १६ र १७, बौदीकाली गाउँपालिका वडा ५ र ६ तथा बुलिङटार गाउँपालिका वडा ५ मा कार्यक्रम लागू गरिएको छ । हाल जिल्लाभर करिब ८ सय हेक्टर क्षेत्रफलमा तरकारी सुपरजोन कार्यक्रम सञ्चालनमा रहेको छ ।

सुपरजोनमा आबद्ध किसान तथा कृषि समूहलाई सिँचाइ सुविधा, जैविक मल उत्पादन तथा प्रयोग, कृषि यान्त्रीकरण, निःशुल्क प्राविधिक सेवा तथा उत्पादनको बजारीकरणमा सहयोग गर्दै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा. देवराज अधिकारीले बताउनु भयो ।