थाहा नगरपालिका–चित्लाङमा निर्माण गरिएको भ्युटावर निर्माण सम्पन्न भएको करिब दुई वर्षपछि औपचारिक रूपमा उद्घाटन गरिएको छ।
स्थानीय तहले सञ्चालन तथा व्यवस्थापन गर्नेगरी बागमती प्रदेश सरकारले निर्माण गरेको उक्त भ्युटावर बुधबार उद्घाटन गरिएको हो। सञ्चालन कार्यविधि तथा प्रदेश सरकार र स्थानीय तहबीच सहमति नजुट्दा लामो समयसम्म प्रयोगविहीन बनेको संरचनाको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ तथा संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
बागमती प्रदेश सरकारको लगानीमा ‘चित्लाङ हिलस्टेसन प्याकेज’ कार्यक्रमअन्तर्गत कुल ५ करोड २७ लाख ४७ हजार रुपैयाँ लागतमा भ्युटावर तथा सहायक संरचनाहरू निर्माण गरिएको थियो। २०७७ र २०८० सालमा गरी दुई चरणमा निर्माण सम्पन्न भए पनि हस्तान्तरण र व्यवस्थापनसम्बन्धी कार्यविधि नबन्दा संरचना सञ्चालनमा आउन सकेको थिएन।
गत साता प्रदेश सरकारले उक्त पर्यटकीय संरचना थाहा नगरपालिकालाई हस्तान्तरण गरेपछि भ्युटावर सञ्चालनको बाटो खुलेको हो। भ्युटावर सञ्चालन तथा व्यवस्थापनका लागि थाहा नगरपालिका र प्रदेशको पर्यटन विकास आयोजनाबीच सम्झौता भएको छ। सम्झौताअनुसार नगरपालिकाले टावर आफैँ सञ्चालन गर्न वा अन्य संघसंस्था/समितिमार्फत ठेक्कामा दिन सक्नेछ।
आम्दानी बाँडफाँडमा ७० प्रतिशत हिस्सा थाहा नगरपालिकाको र बाँकी ३० प्रतिशत बागमती प्रदेश सरकारको राजस्व खातामा अर्धवार्षिक रूपमा जम्मा गरिने पर्यटन विकास आयोजनाका प्रमुख रोशन श्रीवास्तवले जानकारी दिए। १० बुँदे सम्झौतामा संरचना पर्यटन प्रवर्द्धनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
भ्युटावर परिसरमा मुख्य टावरसँगै क्रिएसन हल, शौचालय, रिटेनिङ वाल, गेट तथा गार्ड हाउस निर्माण गरिएको छ। संरचनाको मर्मतसम्भार आवश्यक परे एकपटकका लागि प्रदेश पर्यटन मन्त्रालयले लागत व्यहोर्ने सहमति पनि गरिएको छ।
प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ मध्ये ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरिसकेको छ। मकवानपुरसहित नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखामा भ्युटावर निर्माण भएका छन्। यी संरचनामा कुल ३२ करोड ८४ लाख ३ हजार ३ सय ३९ रुपैयाँ लगानी भएको छ। हालसम्म चित्लाङसहित ५ वटा भ्युटावर सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना स्थानीय तहलाई हस्तान्तरणको प्रक्रियामा रहेका छन्।
उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री सुरेश श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न प्रदेश सरकारले पर्यटकीय पूर्वाधारमा लगानी बढाउँदै गएको बताए। थाहा नगरपालिकाका मेयर विष्णु विष्टले भ्युटावर सञ्चालनसँगै नगरमा पर्यटकको आगमन बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

