काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि शुरू हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ ।

काठमाडौँको भृकृटीमण्डपमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत पुगेको दाबी गरिएको हो । विशेष महाधिवेशनको माग गर्दा ५४.५८ प्रतिशतले हस्ताक्षर गरे पनि अहिले संख्या झनै बढेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।

उनले विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा थप खुल्दै गएको दाबी गरे ।

शिवाकोटीले २ हजार ४ सय ८८ जनाको हस्ताक्षरबाट शुरू भएको विशेष महाधिवेशनको मागलाई जिल्ला जिल्लाबाट साथ दिन प्रतिनिधिहरु आउँदै गरेको बताए ।

तनहुँ, झापा, धनुषा, रूपन्देही, मनाङ लगायतका जिल्लामा खुलेर प्रतिनिधि थपिएकाले संख्या बढेको उनको भनाइ छ । पार्टीको विधानमा भएको ब्यवस्थालाई कार्यान्वयन गर्न लागेको हुँदा पार्टी फुटाउने नभई थप बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य रहेको नेता शिवाकोटीको जिकिर छ ।

महाधिवेशनको उद्घाटनको प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको छ । विशेष महाधिवेशनको पक्षमा नउभिएका नेता तथा केन्द्रीय सदस्यहरुलाईसमेत निमन्त्रणा दिइएको छ । उद्घाटन समारोह भृकुटीमण्डमा आइतबार दिउँसो १ बजे हुनेछ ।