काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

वि.सं. १७७९ मा जन्मिनुभएका पृथ्वीनारायण शाहको जन्मजयन्ती प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्र निर्माणमा पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गर्दै आज सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको उहाँको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिँदैछ।

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोह आयोजना गरेको छ। उक्त समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ। शाहको जन्मस्थल गोरखामा पनि हरेक वर्षझैँ यस वर्ष विशेष कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइँदैछ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरेको छ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीका बीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरूलाई एकीकृत गर्न सफल हुनुभएको थियो। २० वर्षको उमेरमा गद्दीआरोहण गर्नुभएका शाहले आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गर्दै एकीकरण अभियान अघि बढाउनुभयो। उहाँको वि.सं. १८३१ मा ५२ वर्षको उमेरमा निधन भएको थियो।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई सुदृढ बनाउने प्रेरणा प्रदान गर्दछ। यस दिवसले व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको सन्देश दिन्छ।

युवापुस्तामा मातृभूमिप्रतिको समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्न यस दिवसको विशेष महत्व रहेको छ। शाहको एकीकरण अभियानकै कारण नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता अक्षुण्ण रहँदै आएको छ, जसका कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकको रूपमा स्थापित भएको छ।

शाहले आफ्नो शासनकालमा दिनुभएको ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनका सन्दर्भमा उत्तिकै सान्दर्भिक मानिन्छ। साथै, नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै उहाँले नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ को संज्ञा दिनुभएको थियो।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ।