काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि निर्वाचन आचारसंहिताको दायराभित्र ल्याएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरेको हो। आयोगका अनुसार निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट सञ्चालन गर्ने, फेक साइट खोल्ने वा परिचालन गर्ने कार्य निषेध गरिएको छ।
आचारसंहितामा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरेर वा नगरी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले कसैलाई होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमानजनक वा द्वेषपूर्ण अभिव्यक्ति दिने तथा यस्ता गतिविधि गराउने कार्य गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
त्यस्तै, कुनै प्रयोजनका लागि प्रकाशित वा प्रसारित सामग्रीलाई एआईको प्रयोग गरी वा नगरी तोडमोड गरेर सामाजिक सञ्जालमा पोष्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्नसमेत निषेध गरिएको छ।
निर्वाचनको विश्वसनीयता वा निर्वाचन आयोग, आयुक्त तथा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पार्नेगरी अवाञ्छित लाञ्छना लगाउन नपाइने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ। साथै, कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी गर्ने वा यस्तै प्रकृतिका सामग्री कुनै पनि स्वरूपमा उत्पादन, प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ।
मतदाता तथा मतदान प्रक्रियाको गोप्यता भङ्ग गर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि कार्य गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा गरिएको छ।
निर्वाचन आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको जनाएको छ।

