काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघेको छ । सुनको मूल्य एकैदिन तोलामा नौ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख एक हजार ४०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार  छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँका किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस करिब ४,८०० अमेरिकी डलर हाराहारीमा पुगेकाले र विश्वव्यापी आर्थिक अनिश्चितता तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा सुनको माग बढ्दा नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको हो।