काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित सानोठिमी बाल सुधार गृहमा रहेका बालबन्दीहरूबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार राति दुई समूहबीच सुरु भएको विवादले उग्र रूप लिँदा सुधार गृहभित्र आगजनी र तोडफोड समेत भएको छ।
सुधार गृहभित्र रहेका बालबन्दीका दुई समूहबीच आपसी विवादका कारण झडप सुरु भएको थियो। झडपका क्रममा उनीहरूले गृहका भौतिक संरचनामा क्षति पुर्याउनुका साथै आगो समेत लगाएका थिए।
प्रहरीका अनुसार झडपमा परेर गम्भीर घाइते भएका दुई जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। घाइतेहरूको पहिचान र चोटको विस्तृत विवरण भने गोप्य राखिएको छ। उनीहरूको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था स्थिर रहेको बताएको छ।
सुरक्षा व्यवस्था कडा घटना लगत्तै स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। राति अबेरसम्म चलेको तनावलाई प्रहरीले बल प्रयोग गरी साम्य पारेको थियो। उक्त बाल सुधार गृहमा जम्मा १६४ जना थिए ।
हाल सुधार गृह वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

