काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३.०७ अङ्कले घटेर २७६९.०९ विन्दुमा कायम भएको हो।

बजार परिसूचक घटे पनि कारोबार रकम भने निकै उत्साहजनक रहेको छ। सोमबार कुल ३३२ कम्पनीको ३ करोड ६२ लाख कित्ता सेयर खरिद-बिक्री हुँदा १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीमध्ये ८८ वटाको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ७ वटा कम्पनीको मूल्य स्थिर रह्यो। समग्र बजार घटे पनि पाँच वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यसरी सर्किट लाग्नेमा एसवाई प्यानल, हिमस्टार, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपाल रहेका छन्।

समूहगत आधारमा आज होटल तथा पर्यटन क्षेत्रमा सर्वाधिक १.६७ प्रतिशतको वृद्धि देखिएको छ भने जलविद्युत्, उत्पादनमूलक र म्युचुअल फण्ड समूह पनि सामान्य बढेका छन्। अन्य सबै समूहका परिसूचकमा भने गिरावट आएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर लिमिटेड शीर्ष स्थानमा रह्यो, जसको ६५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। यस्तै, आँखुखोला हाइड्रोपावर, मन्जुश्री फाइनान्स र एसवाई प्यानलको पनि ५० करोडभन्दा बढीको सेयर किनबेच भएको छ।