काठमाडौँ । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘कुमारी’ ले रिलिजअघि नै अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो उपस्थिति देखाएको छ। गत शनिबार सार्वजनिक भएको ट्रेलरले दर्शकको मन जितेसँगै ट्रेलर रिलिजको तेस्रो दिनमै फिल्मको ओभरसिज प्रदर्शन अधिकार (Overseas Rights) धमाधम बिक्री भएको हो।
निर्माता महेन्द्र अधिकारीका अनुसार सोमबारसम्म फिल्मको प्रदर्शन अधिकार अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि बिक्री भइसकेको छ। अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका लागि नेपफिल्मले वितरणको जिम्मा लिएका छन्। यी सबै देशमा नेपालकै मिति अर्थात् माघ २३ मै फिल्म प्रदर्शन हुनेछ।
ट्रेलरको प्रभाव र निर्माण टोली: काठमाडौँको भृकुटीमण्डपमा ५ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सांगीतिक कार्यक्रमसहित सार्वजनिक गरिएको ट्रेलर अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ। दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममार्फत अबिषेक खड्का र आकृति राजभण्डारीले डेब्यु गर्दैछन्। प्रेम र वियोगको कथा बुनिएको यस फिल्ममा विकास सुवेदीको लेखन र सुसन प्रजापतिको छायांकन रहेको छ। अन्य देशहरूबाट पनि फिल्मको माग निरन्तर आइरहेको निर्माण पक्षले जनाएको छ।

