काठमाडौं ८ क्षेत्रमा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी माहोल तातेको छ। यस क्षेत्रमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिस्पर्धा देखिएको छ। राप्रपाले पार्टीका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता नवीन शाहीलाई उम्मेदवार बनाएपछि चुनावी समीकरण थप रोचक बनेको हो।

गत निर्वाचनमा यही क्षेत्रबाट रास्वपाका विराजभक्त श्रेष्ठले जित हासिल गरेका थिए। तर यसपटक राप्रपाबाट बलियो र स्थानीय स्तरमा लोकप्रिय उम्मेदवार मैदानमा उत्रिएपछि श्रेष्ठलाई सहज अवस्था नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। रास्वपाका उम्मेदवार श्रेष्ठ पनि पुनः जित निकाल्नेमा आशावादी देखिन्छन् र आफूले अघिल्लो कार्यकालमा थालेका कामका आधारमा मतदाताको विश्वास कायम रहेको दाबी गर्छन्।

राप्रपाका उम्मेदवार नवीन शाही काठमाडौं–८ कै स्थानीय बासिन्दा हुन्। उनी समाजसेवीका रूपमा परिचित हुनुका साथै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशकसमेत हुन्। स्थानीय स्तरमा लामो समयदेखि सक्रिय रहँदै आएका शाही सबै उमेर समूहका नागरिकबीच लोकप्रिय रहेको बताइन्छ। उनले जनताको सुख–दुःखमा सधैं साथ दिएको दाबी गर्दै यसपटक आफ्नो जित सुनिश्चित रहेको प्रतिक्रिया दिएका छन्।

यस निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। नेकपाबाट सुमन सायमी र नेकपा एमालेबाट राजेश शाक्य उम्मेदवार बनेका छन्। बहुदलीय प्रतिस्पर्धाका कारण काठमाडौं–८ को चुनाव परिणाम अनिश्चित बनेको छ।

मतदाता शिक्षित र सचेत रहेको यो क्षेत्रमा उम्मेदवारहरूको व्यक्तिगत छवि, स्थानीय पहुँच र विगतको कामले निर्णायक भूमिका खेल्ने अनुमान गरिएको छ। फागुन २१ नजिकिँदै जाँदा चुनावी गतिविधि थप तीव्र हुँदै जाने देखिन्छ।