काठमाडौं। आशिफ शेखको अर्धशतकसँगै नेपालले आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडामाथि सहज जित हात पारेको छ।

बिहीबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

वार्मअप खेलमा यो नेपालको लगातार दोस्रो जित हो। यसअघि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

आशिफले सर्वाधिक ५८ रन बनाए। २९ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। सन्दीप जोरा ४४ र ओपनर कुलश भुर्तेल १२ रनमा आउट हुँदा गुलसनकुमार झाले अविजित ३१ रन बनाए।

यसअघि चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।

क्यानडाका नवनित धालिवलले सर्वाधिक ४१ रन बनाए। उनले ३६ बलमा एक चौका र ३ छक्का प्रहार गरे। श्रीयस मोब्बा ३८ र कँवरपाद तथगुर २५ रन बनाए।

नेपालका कुुशल भुर्तेल र सन्दीप लामिछानेले समान २/२ विकेट लिए।