काठमाडौँ । नेपाली कांग्रेसले जिम्मेवारी तोकिएकाबाहेक सबै नेता–कार्यकर्तालाई आफ्ना–आफ्ना क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ । ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरिएको हो ।
आइतबार बिहान सम्पन्न कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा जिम्मेवारी पाएका नेता–कार्यकर्तालाई तोकिएको काम सम्पन्न गरी आफ्नो क्षेत्रमा फर्कन निर्देशन दिएको छ । ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले त्यहीँ खटिने’ नीतिअनुसार पार्टीका सबै साथीहरू चुनावी मैदानमा खटिने कांग्रेसले जनाएको छ ।
पार्टी पंक्तिलाई एउटै वडाको क्रियाशील सदस्य अर्को वडा वा अर्को क्षेत्रको वडामा गएर क्रियाशील नहुन अनुरोध गर्ने निर्णय गरिएको छ । साथै, भ्रातृ तथा शुभेच्छुक संस्थामा आबद्ध नेता–कार्यकर्तालाई पनि आफ्नै क्षेत्रमा सक्रिय हुन आग्रह गरिएको छ ।

