काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्यमा भारी कटौती गरेको छ। सोमबारदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ दररेट अनुसार अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको हो।

सङ्घका अनुसार, अब ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७५ र मझौला (मिडियम) अण्डा प्रतिक्रेट रु ३३५ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डाको मूल्य रु ४३५ थियो भने माघ ११ गते यो दर रु ४९५ सम्म पुगेको थियो। गत मंसिरमा हालसम्मकै उच्च बिन्दुमा पुग्दा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५६५ सम्म पुगेको रेकर्ड छ।

भारतबाट सस्तो मूल्यका सेतो अण्डा नेपाली बजारमा भित्रिएका कारण स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको हो। नेपालमै पनि अण्डाको उत्पादन बढेकाले बजारमा आपूर्तिको चाप परेको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार एउटा अण्डा उत्पादन गर्न किसानको औसत रु १९.१२ खर्च हुन्छ। यस हिसाबले एक क्रेट अण्डाको लागत मूल्य रु ५७४.०६ पर्न आउँछ।

‘लागत मूल्य नै झण्डै ६ सय रुपैयाँ पुग्ने अवस्थामा पौने चार सयमा अण्डा बेच्नुपर्दा किसानहरू गम्भीर आर्थिक संकटमा परेका छन्,’ अध्यक्ष पोखरेलले बताएका छन।

सङ्घले भारतीय अण्डाको अवैध आयात रोक्न सरकारसँग पटक-पटक माग गरे पनि प्रभावकारी कदम नचालिएको गुनासो गरेको छ। देशभरका फर्महरूबाट प्राप्त तथ्याङ्कका आधारमा चितवनलाई केन्द्र मानेर सङ्घले यो नयाँ मूल्य निर्धारण गरेको हो।