काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा बुधबार आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गरेका छन्।
सन्देशमा उनले वर्तमान निर्वाचन प्रक्रियालाई अस्वीकार गर्दै देशमा देखिएका राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय समझदारी आवश्यक रहेको उल्लेख गरेका छन्। उनका अनुसार समस्या समाधानबिना गरिने निर्वाचनले स्थायित्व नदिने तर्क गरेका छन्।
पूर्वराजाले प्रजातन्त्र स्थापनाका लागि योगदान दिने राजा त्रिभुवन तथा सहिदहरूको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्।
केही महिनाको झापा बसाइपछि काठमाडौं फर्किँदा फागुन २१ गते आफूलाई स्वागत गर्ने सर्वसाधारण, आदिवासी तथा नागरिकप्रति उनले आभार व्यक्त गरेका छन्। स्वागत कार्यक्रमको संयोजन गरेका दुर्गा प्रसाईं हाल सरकारको हिरासतमा रहेको उल्लेख गरिएको छ।
पूर्वराजाको उक्त सन्देश सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउने क्रम जारी रहेको छ।

