काठमाडौं । ‘कुसुमे रुमाल’, ‘बलिदान’ र ‘चिनो’ जस्ता कालजयी चलचित्र दिएका निर्देशक तुलसी घिमिरेले आफ्नो पछिल्लो सिनेमा ‘पहाड’ को प्रदर्शन मिति सार्वजनिक गरेका छन्। युवा जनशक्ति पलायन भई सुनसान बन्दै गएका पहाडी गाउँबस्तीको सामाजिक र आर्थिक पीडालाई यसपटक घिमिरेले चलचित्रको मुख्य विषयवस्तु बनाएका छन्।

मानव बसोबासविहीन बन्दै गएको उच्च पहाडको कथाले देशको आवश्यकता र नागरिकको दायित्वबारे प्रश्न उठाउने निर्देशक घिमिरे बताउँछन्।

मदनकृष्ण श्रेष्ठ र सुनील थापा जस्ता दिग्गजसँग काम गरिसकेका घिमिरेले यसपटक विपीन कार्की जस्ता प्रतिभाशाली र नयाँ पुस्ताका कलाकारलाई सँगै उतारेका छन्।

यस चलचित्रबाट निर्देशककी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइन सम्हालेकी छन्। रञ्जित गजमेरको मधुर सङ्गीत र ‘अन्याय’ तथा ‘दक्षिणा’ जस्ता हिट चलचित्रमा घिमिरेलाई साथ दिएका प्रमोद प्रधानको छायाङ्कनले सिनेमालाई झनै विशेष बनाएको छ।

निर्देशक घिमिरेका अनुसार, वैशाख १ को मिति सपरिवार बसेर सिनेमा हेर्ने नेपाली संस्कारलाई ध्यानमा राखेर तय गरिएको हो। रित्तिँदै गरेका पहाडी बस्तीको आवाज बोल्ने यो चलचित्रले दर्शकको मन मात्र छुने छैन, समाजलाई सोच्न समेत बाध्य पार्नेछ।