काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै ‘पहाडकी रानी’ धनकुटाको राजनीतिक ताप ह्वात्तै बढेको छ। पाँच पटकसम्म देशको बागडोर सम्हालेका चतुर राजनीतिज्ञ सूर्यबहादुर थापाको यो गृहजिल्लामा यसपटकको प्रतिस्पर्धा पुरानो विरासत जोगाउने र नयाँ इतिहास रच्ने शक्तिहरूबिचको रोचक ‘टक्कर’ मा परिणत भएको छ।
थापाको ‘लिगेसी’ र राप्रपाको मधुरो चमक
कुनै समय धनकुटाको राजनीति भन्नु नै सूर्यबहादुर थापा थियो। २०१५ सालदेखि २०७१ सम्म नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहेका थापाले धनकुटालाई पूर्वाञ्चलको प्रशासनिक केन्द्र मात्र बनाएनन्, सडक, शिक्षा र कृषिको आधुनिक जग पनि बसाले। तर, उनको निधन र छोरा सुनिल बहादुर थापाको नेपाली कांग्रेस प्रवेशसँगै जिल्लामा राप्रपाको त्यो ‘स्वर्ण युग’ इतिहासको पानामा सीमित हुन पुगेको छ। अहिले राप्रपा मैदानमा त छ, तर विगतको जस्तो निर्णायक शक्तिमा देखिँदैन।
राजेन्द्र राईको ‘ह्याट्रिक’ दाउ
पछिल्ला दुई निर्वाचन (२०७४ र २०७९) मा लगातार जित हासिल गरेका एमालेका राजेन्द्र राई यसपटक ‘ह्याट्रिक’ गर्ने दाउमा छन्। एमालेको बलियो सङ्गठन र आफूले गरेका विकास निर्माण नै आफ्नो जितको ग्यारेन्टी भएको उनको दाबी छ। यद्यपि, पार्टीभित्रको आन्तरिक कलह र विपक्षीको घेराबन्दी उनका लागि मुख्य चुनौती बन्न सक्छ।
कांग्रेसको भरोसा: थापा समूह र युवा नेतृत्व
नेपाली कांग्रेसले जिल्ला सभापति दिनेश राईलाई चुनावी मैदानमा उतारेको छ। कांग्रेसको मुख्य शक्ति भनेकै सुनिल थापा समूहको आगमनपछि थपिएको ऊर्जा हो। ‘कुशासनको अन्त्य र युवा नेतृत्व’ को एजेन्डा बोकेका दिनेश राई यसपटक एमालेको किल्ला भत्काउने रणनीतिमा छन्।
पुराना सहकर्मी, नयाँ प्रतिद्वन्द्वी
यो चुनावको अर्को रोचक पक्ष भनेको दुई पुराना मित्रहरूबिचको भिडन्त हो। एमालेका राजेन्द्र राई र नेकपा (माओवादी केन्द्र तथा एकीकृत समाजवादीको एकता पछि बनेको पार्टी) का उम्मेदवार धर्मराज पौडेल कुनै समय एउटै कमिटीमा थिए। २०४९ सालमा पौडेल जिविस सभापति हुँदा राई सदस्य थिए। अहिले तिनै ‘गुरु’ पौडेल आफ्ना ‘शिष्यु राईको विरासत ढाल्न १८ वर्षपछि चुनावी मैदानमा फर्किएका छन्।
‘जेनजी’ र रास्वपाको उदय
परम्परागत दलहरूको लुछाचुडीका बिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दिनेश भण्डारीले वैकल्पिक शक्तिको रूपमा आफूलाई प्रस्तुत गरेका छन्। ुजेनजीु आन्दोलन र नयाँ पुस्ताको भावनालाई प्रतिनिधित्व गर्दै उनले पुराना दलहरूप्रति मतदातामा रहेको वितृष्णालाई भोटमा बदल्ने प्रयास गरिरहेका छन्।
चुनावी अंकगणित के भन्छ इतिहास ?
धनकुटाको चुनावी नतिजा सधैँ झिनो मतान्तरले तलमाथि हुने गरेको छ :
२०७४: राजेन्द्र राई ९एमाले० ले सुनिल थापालाई १०,४५९ मतान्तरले पराजित गरे।
२०७९: राजेन्द्र राईले सुनिल थापालाई मात्र १,३९७ मतान्तरले हराए।
यसपटक १ लाख १८ हजार ४ सय २५ मतदाताले १७ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन्।
धनकुटाको यो निर्वाचन केवल एउटा प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो सूर्यबहादुर थापापछिको रिक्त नेतृत्व कसले लिने भन्ने लडाईं पनि हो। के राजेन्द्र राईले विरासत जोगाउलान्र’ के दिनेश राईले कांग्रेसलाई पुनर्जीवन देलान्र’ वा धर्मराज पौडेल र दिनेश भण्डारीले सबैलाई आश्चर्यमा पार्लान्र यसको उत्तरका लागि फागुन २१ को कुर्नैपर्ने हुन्छ।

