काठमाडौँ। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न राजधानीबाट बाहिरिनेको संख्या उल्लेख्य रूपमा बढेको छ। मंगलबार बिहानैदेखि उपत्यकाका विभिन्न बसपार्कहरूमा घर फर्किने मतदाताको भीड देखिएको छ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निर्वाचन लक्षित यात्राका कारण करिब नौ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। टिकट काउन्टर र बसपार्क क्षेत्रमा बिहानैदेखि लामो लाइन देखिएको छ भने थप सवारीसाधन व्यवस्थापनका लागि व्यवसायी र ट्राफिक प्रहरी सक्रिय छन्।
निर्वाचन नजिकिँदै जाँदा गाउँ फर्किनेको चाप अझ बढ्ने अनुमान गरिएको छ। यात्रुलाई समयमै गन्तव्यमा पुग्न अग्रिम टिकटको व्यवस्था गर्न र आवश्यक सुरक्षा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।





