काठमाडौँ । धुलिखेल–खावा सडकखण्ड कालेपत्र गर्न आगामी चैतमा दुई हप्ता बन्द गरिने भएको छ ।
निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि कालोपत्र गर्न चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि उक्त समयावधिमा रातका समयमा यातायातका साधान सञ्चालनमा रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए ।
उनका अनुसार, साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपांग्रे सवारीसाधन चल्न रोक लगाइनेछ । यस्तै, उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
यसैगरी टिपर र ट्रकलगायत (पास लिएकासमेत) मालवाहक सवारीसाधनलाई चौबीसै घण्टा चलाउन रोक लगाइनेछ
उक्त सडकखण्ड निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनःबोलपत्र आह्वान गरेको थियो ।
चार किमि दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताए । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।
सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत वर्ष फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनीसँग ठेक्का रद्द गरेको हो । सडक विस्तारको काम कम्पनीले ०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।
अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् ।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र अस्फाल्ट कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ ।
सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएका सडकमा दुर्घटना हुँदा यात्री घाइते भइसकेका छन् । रासस

