काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताभन्दा अलग रहेर पनि अमेरिकी सेना छिट्टै फिर्ता हुने घोषणा गरेका छन्। ह्वाइट हाउसस्थित ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी दुईदेखि तीन हप्ताभित्र इरान क्षेत्रबाट अमेरिकी सेना फिर्ता गरिने बताएका हुन्।

ट्रम्पले इरान हाल कमजोर अवस्थामा पुगेको दाबी गर्दै सम्झौता भए पनि नभए पनि अब त्यसले अमेरिकी निर्णयमा ठूलो असर नपर्ने स्पष्ट पारे। “हामी चाँडै त्यहाँबाट बाहिरिन्छौँ, अब परिस्थिति हाम्रो नियन्त्रणमा छ,” उनले भने। साथै, इरानले निकट भविष्यमा परमाणु हतियार विकास गर्न नसक्ने विषयमा अमेरिका विश्वस्त रहेको पनि उनले उल्लेख गरे।

यसैबीच, ट्रम्पले सहयोगी मुलुकहरूप्रति पनि कडा सन्देश दिएका छन्। हर्मुज जलडमरूमध्यबाट हुने तेल आपूर्तिका लागि अब सम्बन्धित देशहरूले आफैँ जिम्मेवारी लिनुपर्ने उनले बताएका छन्। सामाजिक सञ्जाल Truth Socialमार्फत उनले “आफ्नो तेल आफैँ सुरक्षित गर्न सिक्नुपर्ने” भन्दै चेतावनी दिएका हुन्।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले उक्त क्षेत्रमार्गमा जहाजको आवागमन बढिरहेको जानकारी दिएका छन्। तर कूटनीतिक विश्लेषकहरूले भने अझै पनि इरानको प्रभावलाई चुनौती दिन अन्तर्राष्ट्रिय समुदाय सतर्क रहेको बताएका छन्।

ट्रम्पको यो घोषणाले मध्यपूर्वको सुरक्षा र शक्ति सन्तुलनमा नयाँ बहस सुरु गराएको छ।