काठमाडौं । आज अप्रिल २ का दिन विश्वभर विश्व अटिजम सचेतना दिवस मनाइँदैछ। सन् २००७ मा संयुक्त राष्ट्र संघ ले सुरु गरेको यस दिवसको उद्देश्य अटिजमबारे जनचेतना अभिवृद्धि गर्नु र प्रभावित व्यक्तिहरूको अधिकार तथा समावेशीतामा जोड दिनु हो।

अटिजम मस्तिष्कको विकाससँग सम्बन्धित एक प्रकारको न्यूरो–डेभलपमेन्ट अवस्था हो, जसले व्यक्तिको सामाजिक व्यवहार, सञ्चार सीप र कल्पनाशक्तिमा प्रभाव पार्छ। यो कुनै रोग नभई मस्तिष्कको विकासमा देखिने भिन्न अवस्था भएको चिकित्सकहरू बताउँछन्।

इतिहासतर्फ हेर्दा, अटिजम शब्द पहिलोपटक सन् १९०८ मा मनोचिकित्सक युजेन ब्ल्युलर ले प्रयोग गरेका थिए भने सन् १९४३ मा लियो क्यानर ले अटिजमसम्बन्धी विस्तृत अध्ययन सार्वजनिक गरेका थिए।

विशेषज्ञहरूका अनुसार अटिजम भएका बालबालिकामा आँखामा आँखा जुधाउन नसक्ने, बोलाइमा ढिलाइ हुने, सामाजिक रूपमा घुलमिल हुन कठिन हुने, एउटै व्यवहार दोहोर्‍याउने जस्ता लक्षण देखिन्छन्। यस्ता संकेत प्रायः तीन वर्षभन्दा कम उमेरमै देखिन थाल्छन्।

अटिजमको ठोस कारण हालसम्म पत्ता लागिसकेको छैन। तर वंशाणुगत र वातावरणीय कारकहरूको संयुक्त प्रभाव, गर्भावस्थाको अवस्था, र मस्तिष्कको संरचनागत भिन्नतालाई प्रमुख कारणका रूपमा लिइन्छ।

विश्व स्वास्थ्य संगठन का अनुसार विश्वभर करिब १०० बालबालिकामध्ये एक जनामा अटिजम देखिन्छ। नेपालमा भने यसको यथार्थ तथ्यांक अभावमा रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार ४ हजार ८८४ जना अटिजम भएका व्यक्ति पहिचान गरिए पनि यो पूर्ण तथ्यांक नभएको विज्ञहरू बताउँछन्।

अटिजम पूर्ण रूपमा निको पार्ने उपचार नभए पनि प्रारम्भिक पहिचान, अभिभावकको सक्रिय सहभागिता, र स्पिच, सेन्सरी, संगीत तथा व्यवहारिक थेरापीमार्फत सुधार गर्न सकिने चिकित्सकहरूको भनाइ छ।

विशेषज्ञहरूले अटिजम भएका बालबालिकालाई माया, बुझाइ र अनुकूल वातावरण आवश्यक पर्नेमा जोड दिँदै समाजलाई अझ बढी समावेशी बन्न आग्रह गरेका छन्।