काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आजबाट सुरु हुँदैछ। दिउँसो २ बजे बस्ने बैठक विशेष रूपमा महत्वपूर्ण मानिएको छ, जहाँ विभिन्न दलका शीर्ष नेताहरूले आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसैक्रममा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्। पार्टीका प्रवक्ता मनिष झाले लामिछानेको सम्बोधन आजको बैठकको मुख्य आकर्षण हुने बताएका छन्।
प्रतिनिधि सभामा हाल विभिन्न दलहरूको उपस्थिति रहेको छ। नेपाली काँग्रेसका ३८, नेकपा एमालेका २५, नेपाल कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद रहेका छन्।
बैठकमा अन्य प्रमुख दलका संसदीय दलका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ। रामबहादुर थापा ‘बादल’, पुष्पकमल दाहाल ‘प्रचण्ड’, ज्ञानेन्द्र शाही र हर्क साम्पाङले संसद्मा धारणा राख्नेछन्।
यता, नेपाली काँग्रेसले अझै संसदीय दलको नेता चयन नगरेको अवस्थामा काँग्रेसका तर्फबाट भिष्मराज आङदाम्बेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
आजको बैठकलाई नयाँ राजनीतिक समीकरण र आगामी नीति–दिशाको संकेत दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

