काठमाडौं। धनुषामा सशस्त्र प्रहरीका इन्सपेक्टर ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले शुक्रवार बिहान मिथिला नगरपालिकाको लालगढबाट पक्राउ गरेको हो।

कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग खटिएका निरीक्षक अधिकारीले विभिन्न बहाना बनाएर निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा काममा निरन्तर दुःख-हैरानी दिने गरेका थिए।

निर्माण कार्यमा अवरोध नगर्ने शर्तमा घुस लिइरहेको अवस्थामा उनलाई ४० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालय जनाएको छ।