काठमाडौँ । पर्यटन व्यवसायी कर्ण शाक्य ले पोखरास्थित फेवाताल किनारमा रहेको आफ्नो वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचना बिना भत्काइएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनले पोखरा महानगरपालिका को कदमलाई अन्यायपूर्ण र अव्यवहारिक भन्दै आलोचना गरेका छन्।
शाक्यका अनुसार उक्त होटल केवल व्यवसायिक संरचना मात्र नभई दुई दशकको संघर्ष, लगानी र विश्वासको प्रतिफल हो।

उनले माओवादी द्वन्द्वकालमै स्वदेशमै लगानी गरेर पर्यटन क्षेत्रलाई अगाडि बढाउने निर्णय गरेको स्मरण गर्दै सोही क्रममा होटल निर्माण गरिएको बताए।
उनले पर्यटकको चहलपहल उच्च रहेको समयमा बिहानै डोजर चलाएर पर्खाल भत्काउनु अत्यन्त पीडादायी भएको बताए। “हामीले सबै कानुनी प्रक्रिया पूरा गरेका छौँ—जग्गाको लालपुर्जा, नक्सा पास, सम्बन्धित निकायको अनुमति सबै छ,” उनले भने, “त्यसपछि पनि यस्तो व्यवहार किन गरियो?”
फेवाताल वरपर लागू गरिएको ६५ मिटर मापदण्डको सन्दर्भमा उनले आफ्नो होटल उक्त सीमाभन्दा बाहिर रहेको दाबी गरे। साथै, होटलले कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण नगरेको र नियमित कर तिर्दै आएको उनको भनाइ छ।

लेकसाइड क्षेत्रमा हजारौँ घर, होटल र व्यवसाय सञ्चालनमा रहेको उल्लेख गर्दै उनले उचित मुआब्जा र कानुनी प्रक्रिया बिना संरचना भत्काउनु गलत अभ्यास भएको तर्क गरे। “यदि राज्यलाई आवश्यक छ भने मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्छ,” उनले जोड दिए।
फेवातालको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै शाक्यले विगतमा पनि तालको स्वरूप परिवर्तन हुँदै आएको बताए। संरक्षण र विकासबीच सन्तुलन आवश्यक रहेको बताउँदै उनले भने, “संरक्षणले विकासलाई रोक्ने होइन, मार्गदर्शन गर्नुपर्छ।”

यस घटनाले फेवाताल क्षेत्रको संरक्षण, विकास र निजी लगानीको सुरक्षाबीचको सन्तुलनबारे नयाँ बहस सुरु गरेको छ।