काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र गौरव भएकाले यसको प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसारले मात्रै पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वविख्यात आरोही मिङ्मा ग्याल्जे शेर्पा ले बताएका छन्।
एएमएस ग्लोबल हिमालय फाउन्डेसनद्वारा आगामी मे २९ मा काठमाडौँ मा आयोजना हुन लागेको एभरेष्ट टुरिज्म अवार्ड तथा वर्ल्ड पिस समिट सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा उनले पर्यटन प्रवर्द्धनका लागि यस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रम अपरिहार्य भएको उल्लेख गरे।
उनले भने, “सगरमाथा विश्वकै आकर्षणको केन्द्र हो। यसको व्यवस्थित प्रचार गर्न सकिएमा नेपालमा पर्यटक आगमन उल्लेख्य रूपमा बढ्न सक्छ।” साथै उनले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन पनि यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
फाउन्डेसनकी संस्थापक अध्यक्ष सत्यकला तामाङ लामा ले नेपालका लोककला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिइन्। उनका अनुसार आगामी कार्यक्रममा ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
फाउन्डेसनले यसअघि जापान, फिलिपिन्स, चीन, संयुक्त अरब इमिरेट्स, क्यानाडा, माल्दिभ्स र सुडान लगायतका देशमा नेपाली कला, संस्कृति, भाषा तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न गरिसकेको छ।
कार्यक्रममा पर्यटन व्यवसायीहरू जिम्बा जाङ्बु शेर्पा, दामोदर घिमिरे, मिङ्मादोर्जे शेर्पा, असिम राई तथा पत्रकार ऋषि धमला लगायतले पर्यटन क्षेत्रको दिगो विकासमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए।

