काठमाडौँ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको छ । उनलाई शुक्रबार राति नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बयानका लागि बोलाएर नियन्त्रणमा लिएको हो । विभागका अनुसार उनीमाथि विस्तृत अनुसन्धान भइरहेको छ ।
सम्पत्ति शुद्धीकरण प्रकरणमै यसअघि शंकर अग्रवाल पनि पक्राउ परिसकेका छन् । व्यापारी दीपक भट्ट पक्राउ परेसँगै उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान विस्तारका क्रममा यो बदनामित व्यापारिक समूह पनि जोडिएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार भट्ट र अग्रवालले पब्लिक लिमिटेड कम्पनीहरूको स्रोत दुरुपयोग गरी सेयर बजारमा प्रभाव विस्तार गर्ने, साथै बिमा र जलविद्युत् क्षेत्रमा नियन्त्रण बढाउने प्रयास गरेको आरोप छ ।
यसअघि पनि अग्रवाल विवादमा तानिएका थिए । २०७६ सालमा कोरोना महामारीका बेला ज्वरो नाप्ने थर्मल गन अत्यधिक मूल्यमा बिक्री गर्न खोजेको आरोपमा उनी पक्राउ परेका थिए । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गर्न खोजिएको आरोपमा प्रहरीको विशेष अपरेसनमार्फत नक्सालबाट ६७ थान थर्मल गन सहित उनी पक्राउ परेका थिए ।
उनले उक्त कारोबारमा कूटनीतिक नियोगको नम्बर प्लेट भएको गाडीसमेत प्रयोग गरेका थिए । किर्गिस्तानका अवैतनिक महावाणिज्य दूतसमेत रहेका अग्रवालमाथि स्वास्थ्य सामग्री आपूर्तिसँग सम्बन्धित कारोबारमा अस्वाभाविक मूल्य निर्धारण गरेको आरोप लागेको थियो ।
उक्त घटनापछि उनीविरुद्ध कालोबजारी ऐनअनुसार अनुसन्धान अघि बढाइएको थियो भने केही समयपछि तारेखमा रिहा गरिएको थियो ।
यस पटक भने व्यापारी दीपक भट्ट पक्राउ परेपछि सोही सञ्जालसँग सम्बन्धित व्यक्तिमाथि अनुसन्धान विस्तार गर्दै जाँदा अग्रवाललाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
नेपालका प्रमुख औद्योगिक घरानामध्ये एक मानिने शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिल लगायत कम्पनीमार्फत स्टिल, सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता वस्तु उत्पादन गरिँदै आएको छ । पछिल्लो समय व्यापार भन्दा बिचौलियामार्फत राजनीतिक र प्रशासनिक सेटिङतर्फ बढी सक्रिय देखिएसँगै जगदम्बा समूह बदनामित व्यापारिक समूहका रूपमा आलोचित छ ।

