काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ११औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले चेन्नई सुपर किंग्स लाई ४३ रनले पराजित गरेको छ।
एम चिन्नास्वामी स्टेडियम मा आइतबार राति सम्पन्न खेलमा आरसीबीले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नई १९.४ ओभरमा २०७ रनमै अलआउट भयो।
टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ३ विकेट गुमाएर २५० रनको उच्च स्कोर बनायो, जुन जारी सिजनकै सबैभन्दा ठूलो योगफल हो। टोलीका लागि टिम डेभिड ले आक्रामक इनिङ्स खेल्दै २५ बलमा ७० रन बनाए, जसमा ८ छक्का र ३ चौका समावेश थिए।
त्यस्तै देवदत्त पडिक्कल ले ५० रन, फिल साल्ट ले ४६ रन तथा कप्तान रजत पाटिदार ले १९ बलमा ४८ रनको योगदान दिए।
चेन्नईका लागि अंशुल कम्बोज, जेमी ओभरटन र शिवम दुबे ले समान १–१ विकेट लिए पनि रन रोक्न सकेनन्।
२५१ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवातमै दबाब झेल्यो। कप्तान रुतुराज गायकवाड ९ रनमै आउट भएपछि टोली लयमा फर्किन सकेन।
चेन्नईका लागि सरफराज खान ले ५० रन र प्रशान्त वीर ले ४३ रन बनाए पनि जितका लागि पर्याप्त भएन। जेमी ओभरटन ले ३७ रन जोडे।
आरसीबीका बलर भुवनेश्वर कुमार ले ३ विकेट लिए भने क्रुनाल पाण्ड्या लगायत अन्य बलरले पनि महत्वपूर्ण योगदान दिए।
यस जितसँगै आरसीबी लगातार दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नईले लगातार तेस्रो हार बेहोरेको छ।

