काठमाडौं । पछिल्लो समय नेपालका विभिन्न जिल्लामा स्क्वास (जुकिनी फर्सी) खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ। छोटो अवधिमा उत्पादन दिन सक्ने र बजारमा राम्रो माग रहने भएकाले यो बाली किसानका लागि आम्दानीको महत्वपूर्ण स्रोत बन्न थालेको हो।
स्क्वास फर्सी समूहअन्तर्गत पर्ने एक अगौटे तरकारी बाली हो, जसको बोट होचो र फल सानो हुने विशेषता रहेको छ। लहरा नजाने भएकाले यसको व्यवस्थापन सजिलो मानिन्छ। कलिलो अवस्थामै फल टिपेर तरकारीको रूपमा प्रयोग गरिने यस बालीलाई जुकिनी स्क्वास भनेर पनि चिनिन्छ।
कृषि विज्ञहरूका अनुसार स्क्वास न्यानो तथा गर्मी मौसममा राम्रोसँग फस्टाउँछ। १० देखि ३० डिग्री सेल्सियस तापक्रम यसको वृद्धि र फल लाग्न उपयुक्त मानिन्छ। तुषारो सहन नसक्ने भएकाले मुख्य रूपमा बसन्त र ग्रीष्म याममा यसको खेती गरिन्छ।
माटोको हिसाबले राम्रो निकास भएको, ५.५ देखि ६.५ पीएच मान भएको हल्का बलौटे वा दोमट माटो उपयुक्त हुन्छ। अम्लीय माटोमा उत्पादन राम्रो नहुने भएकाले आवश्यक परे कृषि चुन प्रयोग गर्न सुझाव दिइएको छ।
नेपालमा ‘असारे स्क्वास’ जात सबैभन्दा प्रचलित मानिन्छ। यसबाहेक ब्ल्याक जुकिनी, ब्ल्याक ब्यूटी तथा अन्ना–१०१, अन्ना–२०२, अन्ना–३०३ जस्ता वर्णसंकर जातहरू पनि खेती गरिँदै आएका छन्।
खेती प्रविधिमा सुधारसँगै अहिले किसानहरूले प्लाष्टिक थैलामा नर्सरी तयार गरी बिरुवा सार्ने प्रविधि अपनाउन थालेका छन्, जसले उत्पादन चाँडो लिन मद्दत पुर्याएको छ। मल व्यवस्थापन, सिँचाइ र निकासको उचित व्यवस्था गरेमा उत्पादनमा उल्लेख्य वृद्धि हुने बताइएको छ।
स्क्वासमा फलको औंसा र रातो खपटे कीरा मुख्य समस्या हुन् भने पाउडरी मिल्ड्यू र डाउनी मिल्ड्यू प्रमुख रोगका रूपमा देखिन्छन्। यिनको नियन्त्रणका लागि फेरोमन ट्र्याप तथा उपयुक्त विषादी प्रयोग गर्न सिफारिस गरिएको छ।
उत्पादनका हिसाबले एक रोपनीबाट १५०० देखि २००० केजीसम्म फल लिन सकिने तथ्यांक रहेको छ। रोपेको करिब ३०–४० दिनमै फल टिप्न सकिने भएकाले यो बाली व्यावसायिक रूपमा लाभदायक मानिन्छ।
कृषि क्षेत्रका जानकारहरूका अनुसार उचित ग्रेडिङ्ग, प्याकिङ्ग र सुरक्षित ढुवानीमार्फत बजारसम्म पुर्याउन सके स्क्वास खेतीले किसानको आम्दानी उल्लेख्य रूपमा बढाउन सक्छ।

