काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार (चैत २३) विशेष अदालतमा मुद्दा दायर गर्दै पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको स्रोत लुकाउन २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको रकममा शुद्धीकरण गरेको दाबी गरेको हो।
अख्तियारका अनुसार पौडेलले पदीय मर्यादा विपरीत कार्य गर्दै आर्जित सम्पत्तिलाई वैध देखाउन विभिन्न व्यक्तिबाट ऋण लिएको देखाइएको छ। साथै बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरी अवैध सम्पत्तिको स्रोत लुकाउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको जनाइएको छ।
यस प्रकरणमा अख्तियारले १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा बराबरको रकम जफत गर्न र सोही बराबरको बिगो कायम गरी कैद तथा जरिवाना गर्न अदालतसमक्ष माग गरेको छ।
सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको आरोपमा पौडेलकी पत्नी हुमा कुमारी उपाध्यायसहित परिवारका सदस्यहरू जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ।
पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा विचाराधीन रहेको छ। अख्तियारले सो प्रकरणमा ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँको स्रोत पुष्टि नभएको दाबी गरेको छ।
२०५४ माघ ८ गते सेवा प्रवेश गरेका पौडेलमाथि ०८० कात्तिक १० गतेसम्मको अवधिमा आर्जित सम्पत्तिबारे अनुसन्धान गरिएको थियो। अख्तियारले पदीय हैसियतको दुरुपयोग गर्दै गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो।
अवैध रूपमा आर्जित सम्पत्ति पत्नीको नाममा राखेर सम्पत्ति विवरणमा नदेखाएको समेत आरोपपत्रमा उल्लेख गरिएको छ।

