काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सेवा गुणस्तर सुधारका लागि व्यापक रूपान्तरण प्रक्रिया सुरु गरिएको छ । डा. विक्रम तिमिल्सिना को निर्देशनपछि कम्पनीले ग्राहक सेवादेखि डिजिटल प्रणालीसम्म सुधारका ठोस कदम अघि बढाएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधार योजना अघि सारेको छ । यस योजनामा टेलिकम सेवाको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखिएको छ । विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया र गुनासो समाधानमा हुने ढिलाइप्रति व्यापक असन्तुष्टि रहँदै आएको थियो ।
डेटा सेवातर्फ महत्वपूर्ण परिवर्तन गरिएको छ । अब डेटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम कट्ने व्यवस्था हटाइने भएको छ । ग्राहकलाई डेटा खपत ९० प्रतिशत पुग्दा पूर्वसूचना दिइनेछ । साथै ‘पे–एज–यू–गो’ प्रणालीमार्फत प्याकेजबिनै इन्टरनेट प्रयोग गर्ने विकल्प पनि उपलब्ध गराइनेछ, जसले ग्राहकलाई थप पारदर्शी र लचिलो सेवा दिने विश्वास गरिएको छ ।
कम्पनीका अनुसार नयाँ डेटा प्रणाली परीक्षण चरणमा रहेको छ । युएसएसडिबाट खरिद गरिने प्याकमा ३ देखि ५ दिनभित्र र मोबाइल एप प्रयोगकर्ताका लागि ७ देखि १० दिनभित्र पूर्ण कार्यान्वयन गरिनेछ ।
ग्राहक सेवा सुधारका लागि ‘वन टाइम केवाइसी’ प्रणाली पनि लागू गरिने तयारी छ । यसअन्तर्गत एकपटक विवरण बुझाएपछि पुनः कागजात पेश गर्नुपर्ने बाध्यता हट्नेछ । यसले सिम खरिद, नवीकरण तथा अन्य सेवामा हुने झन्झट घटाउने अपेक्षा गरिएको छ ।
डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै कम्पनीले ई–सिम, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवा अनलाइनबाटै उपलब्ध गराउने तयारी गरेको छ ।
त्यसैगरी, ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गरी ग्राहकका सबै सेवा एउटै स्थानबाट उपलब्ध गराउने योजना अघि सारिएको छ ।
सरकार र कम्पनीको संयुक्त प्रयासबाट सेवा गुणस्तर सुधार भई ग्राहक सन्तुष्टि बढ्ने विश्वास गरिएको छ ।

