काठमाडौँ । सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि भक्तपुरमा औपचारिक रूपमा सुरु हुँदैछ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलतर्फ लैजाँदै भैरवनाथको रथ (भैलखः) तानातान गरी जात्राको शुभारम्भ गरिनेछ। अबका नौ दिन आठ रात भक्तपुर जात्राको रौनकमा रमाउनेछ।

परम्पराअनुसार काठैकाठले निर्माण गरिएको भैलखःमा भैरवनाथ र बेताल देवतालाई विराजमान गराई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले डोरी तानेर आ–आफ्नो क्षेत्रमा लैजाने चलन छ। जात्राको मुख्य आकर्षण नै यसरी हुने रथ तानातान हो, जसले भक्तपुरको सांस्कृतिक पहिचान झल्काउँछ।

जात्राको चौथो दिन भेलुखेलस्थित ल्यसिङखेलमा यसींद्योः (लिङ्गो) उभ्याउने विशेष परम्परा छ, जसले पुरानो वर्षलाई विदाइ र नयाँ वर्षलाई स्वागत गर्ने संकेत गर्दछ। नयाँ वर्ष वैशाख १ गते भक्तजनहरू बिहानैदेखि भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपूजामा सहभागी हुने गर्दछन्।

यस वर्ष जात्रालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन प्रशासनले विशेष तयारी गरेको छ। सम्भावित झडप रोक्न दिउँसोमै रथ तान्ने समय निर्धारण गरिएको छ भने करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। साथै, सिसी क्यामेरा र सादा पोशाकका सुरक्षाकर्मीमार्फत निगरानी कडा पारिने जनाइएको छ।

संस्कृतिविद्हरूका अनुसार बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग सम्बन्धित प्राचीन विश्वजात्रा हो, जसले भक्तपुरको मौलिक परम्परा र सांस्कृतिक सम्पदालाई आजसम्म जीवित राख्दै आएको छ।