काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका घटना छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ भनेका छन् । लेखकको भनाइमा सोही ‘पूर्वाग्रही प्रतिवेदन’का आधारमा उनीमाथि फौजदारी अभियोग लगाइएको हो ।

सर्वोच्च अदालतको परमादेशका आधारमा १३ दिने प्रहरी हिरासतबाट रिहा भएको एक दिनपछि उनले आफूलाई आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाएर नियन्त्रणमा राखेको बताएका हुन् ।

‘गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्तत: म रिहा भएको छु,’ पूर्वगृहमन्त्री लेखकले फेसबुकमा लेखेका छन् ।

उनले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार पनि व्यक्ति गरेका छन् । नेपाली कांग्रेसका नेता लेखकले कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने भन्दै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन् ।